Logo

२८ असार, काठमाडौं । संघीय संसद्को बजेट अधिवेशनबाट १० कानुन निर्माण भएका छन् ।

वैशाख २८ गते सुरु भएको संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को दोस्रो अधिवेशनले असार २६ गतेसम्म १० कानुन निर्माण गरेको हो ।यस क्रममा ३ वटा बजेटसम्बन्धी, ६ वटा अध्यादेशलाई प्रतिस्थापन गरेका विधेयक र एक संसदमा नियमित प्रक्रियाबाट दर्ता भएको विधेयकलाई जारी अधिवेशनले कानुनको रूप दिएको संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।

यो अधिवेशनले वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेका ४ अध्यादेश, सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले जारी गरेका निर्वाचनसम्बन्धी २ अध्यादेश लगायतलाई कानुन बनाएको हो ।

संघीय संसद् सचिवालयका अनुसार शाह नेतृत्वको सरकारले जारी गरेका ४ अध्यादेशलाई प्रतिस्थापन गरेर संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका कानुनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३, सहकारी पहिलो संशोधन विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ छन् ।

यसैगरी कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेर प्रतिस्थापन विधेयकका रूपमा दर्ता भएका मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ छन् भने संघीय संसदबाट अघिल्लो प्रतिनिधि सभामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दर्ता गरेको वैकाल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पनि कानुनमा परिणत भएको छ ।

यस्तै बजेटसम्बन्धी ३ विधेयक पनि यही अधिवेशनबाट पारित भएका छन् । राष्ट्र ऋण उठाउने विधेयक २०८३, विनियोजन विधेयक २०८३ र आर्थिक विधेयक २०८३ जारी अधिवेशनबाट पारित भएर कानुन बनेका हुन् ।


सम्बन्धित समाचार