२८ असार, काठमाडौं । सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषय समावेश छ । जसको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’को विषय छ ।जसमा भनिएको छ, ‘योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवासुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ ।’
बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठक भएकै दिन १३ चैतमा शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी भएको थियो । उक्त कार्यसूचीबाहेक गत २१ फागुनको निर्वाचनमा सहभागि भएका र चुनावबाट आएका राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको थियो । ।
राष्ट्रिय प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ । नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविस्यका सुधार एजेण्डासँग आवद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।यही असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय प्रतिबद्धतामा प्राथमिकताका साथ कृषिको विषय उल्लेख गरिएको छ ।
कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गर्ने भनिएको छ । कृषिमा आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधार लगायतका कार्य गर्ने सरकारको प्रतिबद्धता छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका उपाय अवलम्बन गरिनेछ ।
भूउपयोग योजनाको पुनरावलोकन गरी बाँझो कृषि जग्गाको उपयोग सहित चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।



















