Logo

२८ असार, काठमाडौँ । ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा अभिनय गरिसकेकी स्थापित मधेशी कलाकार काजल कर्णले नेपाली चलचित्र उद्योगभित्र आफूमाथि रङ्गभेद, सांस्कृतिक उपहास र श्रम शोषण भएको गम्भीर आरोप लगाएकी छन् ।

आगामी चलचित्र ‘चिरञ्जीवी भवः’ को छायाङ्कनका क्रममा आफूले भोगेको अपमानबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेपाली फिल्म क्षेत्रको कुरुप अनुहार सार्वजनिक गरेकी हुन् ।

यता चलचित्रका निर्देशक दीपकप्रसाद आचार्यले भने ६ बुँदे स्पष्टीकरण जारी गर्दै काजलको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । निर्देशकको स्पष्टीकरणपछि काजलले पुनः ‘सत्यको ऐना र झूटको पर्दा’ शीर्षकमा काउन्टर जवाफ दिएपछि यो विवादले अहिले सिने जगत तातिएको छ ।

काजलको आरोपः “मधेसी भएकै कारण अपमान गरियो, गाई–भैँसी बोलाएर देखाऊ भनियो”

कलाकार काजल कर्णका अनुसार चलचित्रमा आबद्ध हुँदा हरिवंश आचार्य र करिश्मा मानन्धर जस्ता हस्तीहरूसँग काम गर्न पाउने आशामा उनी उत्साहित थिइन् । तर, सेटमा पुगेपछि उनलाई गाडीको सुविधा नदिनेदेखि मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप रुमबाट अवाञ्छित वस्तु झैँ निकाल्नेसम्मको दुव्र्यवहार गरियो ।

सबैभन्दा पीडादायी क्षण मेकअपका बेला भएको काजलले उल्लेख गरेकी छन् । “मेकअप आर्टिस्टले तिमी तराईको, गाई–गोठालो हेर्ने मान्छे हौ भन्दै मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्,“ काजलले पीडा पोख्दै लेखेकी छन्, “अर्का एक पुरुष प्राविधिकले ’ओई मधेसेनी, तिम्रोतिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि ! ल बोलाएर देखाऊ त!’ भन्दै सेटभरि मेरो माटो र पहिचानको हुर्मत लिए, खित्का छोडेर हाँसे ।” स्क्रिप्टमा नभए पनि मधेसी भएकै कारण आफूलाई जबर्जस्ती फोहोर उठाउने र कुचो लगाउने मजदुरको भूमिका मात्र गराइएको र पारिश्रमिक माग्दा उल्टै जानकारी नै नदिई इटहरी सेटबाटै हटाएर अर्कै कलाकार राखिएको उनको आरोप छ ।

यता काजलको स्टाटस सार्वजनिक भएपछि ‘चिरञ्जीवी भवः’ का निर्देशक दीपकप्रसाद आचार्यले सामाजिक सञ्जालमै ६ बुँदे स्पष्टीकरण दिँदै आरोपहरूको खण्डन गरेका छन् । उनले संसारमा ‘मानव समुदाय’ बाहेक आफ्नो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय नहुने स्पष्ट पारेका छन् ।

निर्देशक आचार्यले लेखेका छन्, “७ः३० को कलिङ टाइममा ७० जनाको सुटिङ युनिटले ९ बजेसम्म कुरेर बस्दा पनि काजलजी आउनुभएन । उहाँले अनुशासन भङ्ग गरेपछि युनिट होल्ड हुन नदिन मात्र अर्को कलाकार राखिएको हो ।” पारिश्रमिकको हकमा तेस्रो किस्ता (डबिङपछि दिइने रकम) मात्र बाँकी रहेको निर्माण टिमको भनाइ छ ।

निर्देशकले काजलको थर ’कर्ण’ भए पनि उनी मधेसी मूलको भएको कुरा स्टाटस पढेपछि मात्र थाहा पाएको दाबी गर्दै चरित्र सुहाउँदो अभिनय गराइएको र गोबर सोहोर्ने काम मात्र दिइयो भन्ने कुरा झूटो रहेको भन्दै आफूहरूसँग भिडियो फुटेज सुरक्षित रहेको दाबी गरे ।

निर्देशकको स्पष्टीकरणपछि काजलको स्टाटस् : ‘सत्यको ऐना र झूटको पर्दा’ 

निर्देशकको स्पष्टीकरण आएको केही समयमै कलाकार काजलले त्यसको कडा शब्दमा खण्डन गरेकी छन् । उनले निर्देशकलाई ’वास्तविकता बङ्ग्याउन खप्पिस’ को सङ्ज्ञा दिँदै आफ्नै अगाडि नश्लीय दुव्र्यवहार हुँदा निर्देशक मौन बस्नु नै मतियार हुनु रहेको बताएकी छन् ।

“२०–२५ दिनदेखि दोस्रो किस्ताको पैसा नदिने, फोन नउठाउने अनि कलाकारले पसिनाको मूल्य माग्दा अनुशासनहीन भन्न मिल्छ ?” काजलले प्रश्न गरेकी छन् । फिल्म साइन गर्दा थर र पृष्ठभूमि सोध्ने निर्देशकले अहिले ’अन्जान’ बन्ने नाटक गरेको र पैसा हालिदिन्छु भनी झुक्याएर इटहरी बोलाएर अपमान गरिएको उनले बताएकी छन् ।

यो विवादले नेपाली चलचित्र उद्योगभित्र अझै पनि मोफसल र मधेसी समुदायका कलाकारहरूमाथि हुने विभेद, रङ्गभेद र श्रम शोषणको बहसलाई राष्ट्रिय रूपमा ब्युँताइदिएको छ । काजलले यो लडाइँ अब आफ्नो मात्र नभएर चलचित्र क्षेत्रभित्र हुने हरेक रङ्गभेद र श्रम शोषण विरुद्धको लडाइँ भएको घोषणा गरेकी छन् ।

अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक र एक्स (ट्विटर) मा यो घटना तीव्र चर्चा र चौतर्फी बहसको मूल विषय बनेको छ, जहाँ सर्वसाधारणदेखि कलाकर्मीहरू रङ्गभेद विरुद्ध र न्यायको पक्षमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।


सम्बन्धित समाचार