२७ असार,काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वा बजारमा विद्युत् पोल स्थानान्तरण नहुँदा नाला निर्माण कार्य अधुरो बनेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाले सञ्चालन गरेको नाला निर्माणको काम पोल नसारिएकै कारण रोकिएको हो। स्थानीयका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित रूपमा आग्रह गरिए पनि आवश्यक पहल हुन सकेको छैन।
चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रप्रसाद सिंहले वडाको सिफारिससहित नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखामा पोल स्थानान्तरणका लागि निवेदन दिएको महिनौँ बितिसक्दा पनि कुनै सुनुवाइ नभएको बताए।
उनका अनुसार सडक किनारमा रहेका पोलका कारण नालाको बाँकी भाग जोड्न नसकिएको छ। नाला अधुरो रहँदा पानी जम्ने, दुर्गन्ध फैलिने तथा सर्वसाधारण र बालबालिकाको स्वास्थ्यमा समेत जोखिम बढेको उनले बताए।
स्थानीय शिवकुमार यादवले नाला निर्माणपछि बजार व्यवस्थित हुने अपेक्षा गरिए पनि अधुरो कामका कारण समस्या झन् बढेको बताए। पानी जम्दा आवतजावत र किनमेल गर्नसमेत कठिनाइ भइरहेको उनको भनाइ छ।
भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाका इन्जिनियर शेखरमणि सिंहले विद्युत् पोल स्थानान्तरण नहुँदा बाँकी निर्माण कार्य रोकिएको स्वीकार गर्दै पोल हट्नेबित्तिकै नालाको काम सम्पन्न गरिने जानकारी दिए।
भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त योजनाका लागि ४५ लाख रुपैयाँ लागत अनुमान स्वीकृत गरेको थियो। सोही योजनाअन्तर्गत चन्द्र कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३८ लाख ७९ हजार ७८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। कम्पनीले हालसम्म २९ लाख ८ हजार २७८ रुपैयाँ भुक्तानी पाइसकेको कार्यालयले जनाएको छ।
यता, नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखाका सुपरभाइजर जीवछ शर्माले निवेदन दिएर मात्र काम नहुने भन्दै समय–समयमा ताकेता आवश्यक पर्ने बताए। दैनिक धेरै यस्ता निवेदन आउने र कर्मचारी फिल्डमा रहने भएकाले समन्वयको अभावले ढिलाइ भएको हुन सक्ने उनले बताए।



















