२७ असार,काठमाडौं । साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो। साउन महिना र सोमबार भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले यस अवधिमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजन आउने गर्छन्।
कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार भक्तजनलाई सहज र व्यवस्थित रूपमा सेवा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानको पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सफाइ गरिएको छ। सफाइ अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने कोषले जनाएको छ।
आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्ने तयारी गरिएको छ। उक्त अभियानमा सुरक्षा निकायलाई समेत सहभागी गराइने कोषाध्यक्ष श्रेष्ठले बताइन्।
पहिलो दिनको सफाइ कार्यक्रममा दर्जनौँ संघसंस्थाको सहभागिता रहेको थियो। कोषले शनिबारबाट सुरु भएको अभियानलाई प्रत्येक हप्ताको शनिबार निरन्तरता दिने तयारी गरेको जनाएको छ।
साउन महिनाभर भने भक्तजनको चापलाई मध्यनजर गर्दै आइतबारसहित अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने कोषले जनाएको छ।



















