Logo

२७ असार,वीरगञ्ज । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ६:२० बजे मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना तथा उपमेयर भुजेल सवार सरकारी गाडीमा रहेका ३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया धनुषा पठाइएको छ।

घाइतेमध्ये एम्बुलेन्स चालक धनुषाको मिथिला नगरपालिका–१ का ४९ वर्षीय दीपेन्द्रकुमार महतो, महोत्तरी गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्तकुमार सिंह, ४० वर्षीया रेणुकुमारी महतो, धनुषा मिथिला नगरपालिका–९ की ६० वर्षीया राजुदेवी र ६५ वर्षीय लक्ष्मी महतो रहेका छन्।

यस्तै, सरकारी गाडीमा सवार धनुषाधाम नगरपालिका–८ का चालक बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर ६५ वर्षीया विद्या भुजेल र ७० वर्षीय भीमराज भुजेल घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार