Logo

२७ असार,काठमाडौं । काठमाडौँको बुद्धनगरमा आज (शनिबार) बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका ४५ वर्षीय व्यवसायी अश्विन राउतको निधन भएको छ। वीर अस्पतालको बर्न आईसीयूमा उपचारका क्रममा उनको निधन भएको हो।

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरको भान्सा कोठामा राउतले आफ्नै शरीरमा आगो लगाएका थिए। घटना लगत्तै प्रहरी र स्थानीयको सक्रियतामा उनलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो।

उपचारमा संलग्न डा. पियुष दाहालका अनुसार राउतको शरीरको ५५ प्रतिशत भाग जलेको थियो। अस्पतालको अथक प्रयासका बावजुद उपचारकै क्रममा केही समयअघि उनको मृत्यु भएको डा. दाहालले पुष्टि गरे।

प्रारम्भिक अनुसन्धानका अनुसार पारिवारिक विवादका कारण उनले यो आत्मघाती कदम चालेको प्रहरीले जनाएको छ। पछिल्लो तीन दिनमा देशका विभिन्न स्थानमा आत्मदाह प्रयास भएका तीन घटनामध्ये दुई जनाको उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भइसकेको छ।


सम्बन्धित समाचार