२७ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७ रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दाले चर्को सास्ती भोग्नुपरेको छ। एक निजी बंगला निर्माणका क्रममा सार्वजनिक बाटो र नाला अवरुद्ध पारिएपछि स्थानीयवासीले तत्काल बाटो खुलाउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल तथा भारतलगायत विभिन्न देशमा व्यापार गर्दै आएका व्यापारी निरञ्जन चौधरीले आफ्नो बंगलो निर्माण गर्ने क्रममा सार्वजनिक बाटो बन्द गराएको स्थानीयको भनाइ छ। वडा नं. ७ का जनप्रतिनिधि, महानगरका केही कर्मचारी र प्रभावशाली व्यक्तिहरूको पहुँचका कारण सार्वजनिक बाटो लामो समयसम्म बन्द रहँदा समेत महानगरपालिका मूकदर्शक बनेको आरोप लागेको छ। केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंका समेत गरेका छन्।
भवन निर्माणका क्रममा ठेकेदार कम्पनीले डोजर प्रयोग गरी सडक र नाला भत्काएपछि सो क्षेत्रको बाटो भासिएको थियो। स्थानीयको तीव्र विरोधपछि नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडकलाई पूर्ववत् अवस्थामा पुनःनिर्माण गर्ने सहमति गर्दै सम्भावित दुर्घटना रोक्न अस्थायी रूपमा बाटो बन्द गरिएको थियो।
तर, सहमति भएको ७० दिनभन्दा बढी समय बितिसक्दा पनि सडक पुनः सञ्चालनमा ल्याउन कुनै ठोस पहल भएको छैन। बाटो बन्द हुँदा नालाको निकास समेत अवरुद्ध भएको छ, जसका कारण सामान्य वर्षा हुँदा पनि टोल डुबानमा पर्न थालेको छ। नालाको पानी घर–घरमा पस्न थालेपछि स्थानीयको जनजीवन थप कष्टकर बनेको छ।
शुक्रबार राति परेको सामान्य वर्षापछि टोल डुबानमा परेपछि आक्रोशित स्थानीयवासीले शनिबार बिहान निर्माणस्थलमै पुगेर विरोध जनाएका थिए। निर्माणधनीसँग पटक–पटक सम्पर्क गर्दा पनि उपस्थित नभएपछि उनीहरूले वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इतेयाज आलम र वडा नं. ७ का वडा अध्यक्ष हिराकाजी महर्जनलाई तत्काल हस्तक्षेप गर्न माग गरेका थिए।
विवाद बढेपछि महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल तथा वडा अध्यक्ष हिराकाजी निर्माणस्थल पुगेका थिए। तर सार्वजनिक बाटो कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषयमा टोलीले कुनै स्पष्ट निर्णय दिन नसकेको स्थानीयको गुनासो छ।
महानगरकै रोहबरमा भएको सहमति उल्लंघन हुँदा समेत सम्बन्धित निकायले प्रभावकारी कानुनी कदम नचालेको भन्दै स्थानीयले महानगरको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल अन्त्य गरी बाटो र नाला पूर्ववत् अवस्थामा सुचारु गर्न माग गरेका छन्। यस विषयमा निर्माणधनी निरञ्जन चौधरी तथा वीरगञ्ज महानगरपालिकाको आधिकारिक धारणा आउन बाँकी छ।



















