Logo

२७ असार,काठमाडौं ।  असार १८ गते दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालकको शव फेला परेको छ।

प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शव गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ निवासी तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ।

यसअघि दुर्घटनामा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव पनि फेला परिसकेको छ।

दुर्घटनाका बेला गाडीमा चालक तुलाराम सुवेदी, मेखे तिरुवा, कालिकोटको रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का तथा सहचालक रामप्रसाद सुवेदी सवार रहेका थिए।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनाग्रस्त भई सडकबाट कर्णाली नदीमा खसेको थियो।

दुर्घटनापछि गाडीसहित यात्रुहरू नदीमा बेपत्ता भएका थिए। हालसम्म दुई जनाको शव फेला परिसकेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार