२७ असार,काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्डसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक र भावी मेडिकल विद्यार्थीको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्याउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको बताए।
मन्त्रालयले अध्ययन समितिको प्रतिवेदनका आधारमा निर्णय गरे पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा निर्णय रोकिएको उनको भनाइ छ।
‘इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्याउने निर्णय मन्त्रालयसम्म पुगे पनि आयोगको पूर्ण बैठक नबस्दा त्यो निर्णय कागजमै सीमित भयो,’ शाहले भने, ‘निर्णय भएर पनि कार्यान्वयन नभएपछि आन्दोलन विकल्प नभई बाध्यता बनेको हो।’
उनले सरकारले तत्काल चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक बोलाएर स्टाइपेन्डसम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
प्रदर्शनकारीहरूले नेपाल मेडिकल एसोसिएसनको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन्। मेडिकल विद्यार्थी र इन्टर्न चिकित्सकका माग सम्बोधन गर्न एसोसिएसनले प्रभावकारी पहल नगरेको उनीहरूको आरोप छ।
संघर्ष समितिले सरकारको निर्णय कार्यान्वयन भएपछि मात्र अस्पताल सेवामा फर्किने जनाएको छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि समितिले दिएको छ।
‘हामी अस्पताल फर्किन चाहन्छौँ, बिरामीको सेवामा समर्पित हुन चाहन्छौँ। तर सम्मानबिना सेवा सम्भव हुँदैन,’ शाहले भने।
प्रदर्शनका क्रममा चिकित्सकहरूले ‘प्रतिवेदन कार्यान्वयन गर’, ‘इन्टर्नमाथिको विभेद अन्त्य गर’, ‘निर्णय कार्यान्वयन गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।



















