२७ असार,काठमाडौं । कोशी अस्पतालले अतिक्रमित संरचना हटाउन सोमबारदेखि डोजर चलाउने चेतावनी दिएपछि अस्पतालको जग्गामा बनेका सटरहरू खाली गर्न थालिएको छ।
विराटनगर–७ अस्पताल चोकस्थित कोशी अस्पतालको नाममा रहेको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका छन्।
नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अस्पतालको जग्गामा संरचना निर्माण गरी ३० भन्दा बढी सटर भाडामा लगाएका थिए।
अस्पताल प्रशासनले सोमबारदेखि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने तयारी गरेपछि शनिबारदेखि सटरमा रहेका व्यवसायीहरूले सामान हटाउन र सटर खाली गर्न थालेका छन्।
अस्पतालका अनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कट्ठा ८ धुर अस्पतालको जग्गा प्रयोग गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा क्षेत्रफलमा संरचना निर्माण गरी भाडामा लगाएको छ। गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक किनारमा सटर निर्माण गरी भाडामा दिएका छन्।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए।
त्यसपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सूचना जारी गरेको थियो। उक्त समयसीमा सोमबार सकिने भएकाले प्रशासनले त्यसपछि डोजर प्रयोग गरेर संरचना हटाउने तयारी गरेको जनाएको छ।



















