२७ असार,काठमाडौं । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान राउतले आत्मदाहको प्रयास गरेका थिए।
आगोले जलेर गम्भीर घाइते भएका राउतलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। उनको हाल वीर अस्पतालको बर्न आईसीयूमा राखेर उपचार भइरहेको छ।
उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार व्यवसायी राउतको शरीरको ६० प्रतिशत भाग जलेको छ। “उहाँ गम्भीर घाइते हुनुहुन्छ, शरीरमा ६० प्रतिशत जलन भएको छ,” डा. दाहालले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पारिवारिक विवादका कारण व्यवसायी राउतले यस्तो आत्मघाती कदम चालेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी दिँदै भने, “उहाँ श्रीमती र छोरासँग बस्दै आउनुभएको रहेछ, तर घटनाको समयमा उहाँहरू घरमा हुनुहुन्नथ्यो। अघिल्लो दिन छोरासँग सामान्य विवाद भएको बुझिएको छ।”
पछिल्लो तीन दिनमा आत्मदाह प्रयासको तेस्रो घटना
पछिल्लो तीन दिनभित्र नेपालमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने यो तेस्रो शृङ्खलाबद्ध घटना हो। यसअघि बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँगको विवादपछि आफ्नै शरीरमा आगो लगाएका थिए, जसको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमै मृत्यु भइसकेको छ।
त्यस्तै, शुक्रबार मात्रै सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर अवस्थाका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा यसरी आत्मदाह प्रयासका घटनाहरू क्रमिक रूपमा बढ्दै गएका छन्।



















