२७ असार,चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइनमा जानकारी गराउन आग्रह गरेकी छन्।
चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानसँग छलफल गर्दै मन्त्री चौधरीले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई यस्ता गतिविधिबारे तत्काल जानकारी दिन आग्रह गरेकी हुन्।
उनले मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी अनुगमन गरिने र दोषी पाइए कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन्। किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उनको भनाइ छ।
मन्त्री चौधरीले बाली लगाउने समयमा किसानले मल, बीउ, विषादीलगायत आवश्यक कृषि सामग्री सहज रूपमा पाएका छन् वा छैनन् भन्ने विषयमा स्थलगत जानकारी लिएकी थिइन्। उनले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष संवाद गरेकी हुन्।
अनुगमनका क्रममा उनले रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बीउको उपलब्धता, उत्पादन लागत, सिँचाइ सुविधा, बजार व्यवस्थापन र किसानले भोगिरहेका समस्याबारे जानकारी लिइन्।
किसानका गुनासा र सुझाव सुनेपछि मन्त्री चौधरीले सम्बन्धित सरकारी निकायका अधिकारीसँग समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी थिइन्।
उनले कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै आवश्यक सामग्री उपलब्ध गराउने, बजारमा हुने अनियमितता नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।



















