Logo

२८ असार, रौतहट । विवाह भएको केही महिनामै एक २० वर्षीया युवतीले आफ्नै कोठामा ज्यान गुमाउनुपरेको घटनाले रौतहटको कटहरिया नगरपालिका–३, बरेडवा गाउँलाई स्तब्ध बनाएको छ। शनिवार सुत्ने कोठाको बाँसको कोरोमा साडीको पासोमा झुन्डिएको अवस्थामा निशा कुमारी साह सोनारको शव फेला परेपछि यो घटना ‘आत्महत्या’ कि ‘दाइजोजन्य हत्या’ भन्ने प्रश्न खडा भएको छ।

प्रहरीका अनुसार, मृतक निशाका श्रीमान् निरज कुमार साह सोनारको घरमा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ। तर, यो घटनापछि मृतकका श्रीमान् निरज सम्पर्कविहीन हुनुले घटनालाई थप शङ्कास्पद बनाएको छ।

मृतकका बुबा रबिन्द्र साह सोनारले यो आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेका छन्। गत फागुनमा विवाह बन्धनमा बाँधिएकी निशाले त्यसयता लगातार शारीरिक र मानसिक यातना खेप्दै आएको उनको आरोप छ।

विवाहको केही समयपछि नै ज्वाइँले एसी र दाइजोको रकम माग गर्दै छोरीलाई कुटपिट गर्न थालेका थिए, बुबा रबिन्द्रले भक्कानिँदै भने, “दाइजो नपाएपछि मेरो छोरीलाई मारेर आत्महत्याको नाटक गरिएको हो।”

घटनाले स्थानीय स्तरमा आक्रोश सिर्जना गरेको छ। दाइजो प्रथाका कारण कलिलो उमेरमै एक छोरीले ज्यान गुमाउनुपरेको भन्दै आफन्त र स्थानीयवासीले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। “दोषी जोसुकै होस्, कानुनको दायरामा आउनैपर्छ,” एक स्थानीयले माग गरे।

यता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले अहिले नै यो घटना ‘हत्या’ वा ‘आत्महत्या’ भनेर निष्कर्ष निकाल्न हतार हुने बताए। हामी पोस्टमार्टम रिपोर्टको पर्खाइमा छौँ। घटनास्थलबाट प्रमाण सङ्कलन र थप अनुसन्धान प्रक्रिया जारी छ। अनुसन्धानले नै घटनाको वास्तविकता बाहिर ल्याउनेछ, प्रवक्ता गौतमले भने।

अहिले मृतकका श्रीमान् फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। पोस्टमार्टम रिपोर्टले निशाको मृत्युको वास्तविक कारण खोल्ने नै छ, तर यो घटनाले फेरि एकपटक समाजमा जरा गाडेर बसेको ‘दाइजो प्रथा’ र त्यसले महिलाको ज्यान लिइरहेको यथार्थलाई उदाङ्गो पारिदिएको छ।


सम्बन्धित समाचार
भर्खरै