Logo

२९ असार,काठमाडौं । भारतीय वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भागमध्ये एक ‘ब्रेनस्टेम’ को अहिलेसम्मकै विस्तृत त्रि–आयामिक नक्सा तयार गरेका छन्।

मद्रासस्थित सुधा गोपालकृष्णन ब्रेन सेन्टरका वैज्ञानिकहरूले तयार पारेको ‘एन्कर’ नामक यो नक्साले ब्रेनस्टेमको संरचनालाई कोषीय स्तरसम्म देखाउने दाबी गरिएको छ।

५ सयभन्दा बढी तन्तु नमूनाको अध्ययनका आधारमा तयार गरिएको नक्सामा २ सयभन्दा बढी स्नायु–कोष समूह र स्नायु मार्गहरू पहिचान गरिएको छ। यसले एमआरआईबाट देखिने सम्पूर्ण मस्तिष्क संरचनादेखि एउटै स्नायु कोषसम्मको अध्ययन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।

ब्रेनस्टेमले मानिसको सास फेर्ने प्रक्रिया, मुटुको धड्कन, निद्रा र चेतनाजस्ता अत्यावश्यक कार्यहरू नियन्त्रण गर्छ। यसको संरचना निकै घना र जटिल भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्नु लामो समयदेखि चुनौतीपूर्ण मानिँदै आएको थियो।

विज्ञहरूका अनुसार यो उपलब्धिले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्सजस्ता स्नायुसम्बन्धी रोगहरूको अध्ययन र उपचार विकासमा सहयोग पुर्‍याउन सक्छ। साथै ब्रेनस्टेममा गरिने शल्यक्रियालाई अझ सुरक्षित बनाउन पनि यो नक्सा उपयोगी हुने अपेक्षा गरिएको छ।

झन्डै २० जना वैज्ञानिकले १८ महिनासम्म काम गरेर यो अनुसन्धान पूरा गरेका हुन्। हाल उक्त केन्द्रसँग २ सयभन्दा बढी अनुसन्धानकर्ता र प्राविधिक आबद्ध छन्।

केन्द्रले आगामी दिनमा थप १ सय मानव मस्तिष्कको अध्ययन गर्ने योजना बनाएको छ। वैज्ञानिक समुदायका लागि यो नक्सा अनलाइनमार्फत निःशुल्क उपलब्ध गराइएको छ।


सम्बन्धित समाचार