Logo

२९ असार,काठमाडौं । भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत भारतको रक्सौल प्रहरीले ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

रक्सौलका एसडीपीओ मनीष आनन्द र रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा गठित विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक तथा नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो।

प्रहरीका अनुसार घेराबन्दीका क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९.६० ग्राम ब्राउन सुगर बरामद भएको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा निवासी २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ। बरामद मोबाइल फोनको कल डिटेल र अन्य डिजिटल प्रमाणको विश्लेषण गर्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध रक्सौल थानामा भारतको लागूऔषध तथा मनोद्दीपक पदार्थ (एनडीपीएस) ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।

एसडीपीओ मनीष आनन्दका अनुसार बरामद गरिएको ब्राउन सुगरको स्रोत, आपूर्ति सञ्जाल र यसका मुख्य सञ्चालकको पहिचानका लागि विस्तृत अनुसन्धान जारी छ।

भारत–नेपाल खुला सीमाको दुरुपयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रण गर्न सीमाक्षेत्रमा निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ। सुरक्षा निकायले ‘जिरो टोलरेन्स’ नीतिअन्तर्गत लागूऔषध तस्करीविरुद्ध यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार