२९ असार,वीरगञ्ज । नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालको आयोजनामा वीरगञ्ज महानगरपालिका–स्थित टाउन हल प्राङ्गणमा लागुऔषधविरुद्ध जनचेतनामूलक अभियान सम्पन्न भएको छ।
संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका प्रतिनिधि देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीलगायत विभिन्न सामाजिक, राजनीतिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागुऔषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै युवापुस्तालाई यसको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनीहरूले जनचेतनामूलक अभियानलाई निरन्तर सञ्चालन गर्दै युवामा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार अभियानको उद्देश्य युवामाझ लागुऔषधको दुष्प्रभावबारे सचेतना फैलाउनु, सामाजिक जिम्मेवारीप्रति जागरुक बनाउनु तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नु हो।
कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।



















