Logo

२९ असार, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए ।

उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

मन्त्री तिमिल्सिनाले गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) अहिले सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेको भन्दै यसको पहिचान र समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको बताए ।

सञ्चार क्षेत्रलाई सुदृढ बनाउन प्रेस काउन्सिलले सकारात्मक र रचनात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथिको छलफल अगाडि बढिसकेको बताए ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयअनुकूल हुन नसकेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।

उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए ।

सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसैबीच, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई पनि नियुक्त गरेको छ ।


सम्बन्धित समाचार