२९ असार,काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरेको दाबी गरेको छ।
इरानको सरकारी टेलिभिजनका अनुसार सोमबार बिहान ती दुई जहाजले अवैध रूपमा होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरेपछि आईआरजीसीको नौसेनाले चेतावनीस्वरूप गोली चलाएर उनीहरूलाई रोकेको हो।
होर्मुज जलघाँटी नजिकबाट रिपोर्टिङ गरिरहेका अल जजिराका संवाददाताले पनि अवैध रूपमा जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई जहाजलाई आईआरजीसीको नौसेनाले चेतावनीस्वरूप गोली प्रहार गर्दै रोकेको बताएका छन्।
घटनामा जहाज वा चालकदललाई कुनै क्षति पुगेको वा जहाजहरूको परिचयबारे भने तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
विश्व ऊर्जा आपूर्तिको करिब एक चौथाइ हिस्सा यही जलमार्गबाट ओसारपसार हुने भएकाले होर्मुज जलघाँटी विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिन्छ। यस क्षेत्रमा हुने कुनै पनि सुरक्षा घटनाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा प्रभाव पार्ने सम्भावना रहने विश्लेषण गरिन्छ।



















