३० असार, काठमाडौँ । बेरोजगारी र त्यसबाट उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको गएराति २:०० बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
गम्भीर रूपमा जलेका मण्डललाई गत शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो । सोही दिन साँझ साढे ७ बजे उनलाई कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिए पनि चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनलाई बचाउन सकिएन ।
पारिवारिक स्रोतका अनुसार जीवविज्ञान (बायोलोजी) विषयमा स्नातकोत्तर (एमएस्सी) सम्मको उच्च शिक्षा हासिल गरेका विवेक लामो समयदेखि रोजगारीको खोजीमा थिए । उनले सर्लाहीको रामनगरस्थित एक स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
तर, विद्यालय प्रशासनले उनको ठाउँमा अर्को शिक्षक नियुक्त गरेपछि उनले रोजगारी गुमाउनुपर्यो । शिक्षण पेसाबाट हटाइएका विवेक विगत एक वर्षदेखि पूर्ण रूपमा बेरोजगार भएर घरमै बस्न बाध्य थिए । उच्च शिक्षा हासिल गरेर पनि समाजमा उचित अवसर नपाउँदा र रोजगारी खोसिँदा उनी मानसिक छटपटीमा परेका थिए ।
विवेककी भाउजू शान्तिदेवी मण्डलका अनुसार रोजगारी गुमेपछि उनी एक वर्षदेखि घरमै एकान्तप्रिय बन्दै गएका थिए र गम्भीर मानसिक तनावमा देखिन्थे ।
“एक वर्षदेखि घरमै खाली बस्नुभएको थियो, भित्रभित्रै निकै तनाव लिन थाल्नुभएको रहेछ,” भावविह्वल हुँदै उनले भनिन्, “कसैले सोचेका पनि थिएनौँ, शुक्रबार दिउँसो १२:०० बजेतिर एक्कासि सिसौटिया बजार चोकमा पुगेर शरीरमा पेट्रोल छर्की आफैँलाई आगो लगाउनुभएछ।”
दिउँसै चोकमा आगो सल्किएपछि स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइ तत्कालै प्रादेशिक अस्पताल पुर्याइएको थियो । सर्लाहीमा उपचार सम्भव नभएपछि उनलाई तत्कालै हेलिकप्टरबाट काठमाडौँ रिफर गरिएको थियो ।



















