Logo

३० असार, काठमाडौँ । काठमाडौंसम्मको लामो र कष्टकर ‘पैदल न्याय मार्च’ तय गरेर जनकपुरधामबाट हिँडेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आफैँ बाराको निजगढ आइपुगेका छन् ।

आफ्ना पीडा र मागहरू सरकारसमक्ष राख्न हिँडेका पीडितहरू र गृहमन्त्रीबीच निजगढमा अहिले घनिभूत संवाद चलिरहेको छ ।बिहानै गृहमन्त्री आफूहरूलाई भेट्न आउँदै गरेको सूचना पाएपछि काठमाडौंतर्फ अघि बढिरहेका पीडितहरूको टोली निजगढमै रोकिएको थियो ।

गएराति बास बसेकै स्थान— उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितहरू आमनेसामने बसेर छलफल गरिरहेका छन् ।मिटरब्याजीहरूको चक्रव्यूहबाट मुक्ति र न्यायको खोजीमा सडकमा उत्रिएका नागरिकका पीडा सुन्न गृहमन्त्री आफैँ बाटोमै आइपुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार, अहिले टोलीसँग माग तथा समस्या समाधानका विविध विकल्प र योजनाबारे सौहार्दपूर्ण तरिकाले छलफल भइरहेको छ ।

सडकको धुलो र पैदल यात्राको थकाइबीच न्यायको मधुरो आशा बोकेका पीडितहरू गृहमन्त्रीसँगको यो प्रत्यक्ष संवादबाट ठोस निकास निस्कनेमा आशावादी देखिएका छन् ।


सम्बन्धित समाचार