Logo

३० असार, काठमाडौं । नेपालको वित्तीय बजारमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धिदरमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्त) को प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेर कुल ५८ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको थियो । यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८३ जेठ मसान्तमा यो वृद्धिदर ६.५ प्रतिशत कायम भएको देखिन्छ ।

निजी क्षेत्रतर्फ गएको कुल कर्जामध्ये संस्थागत र व्यक्तिगत हिस्सामा सामान्य फेरबदल भएको छ । समीक्षा अवधिमा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत वर्षको जेठमा यो हिस्सा क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत रहेको थियो ।

यसले संस्थागत कर्जाको तुलनामा व्यक्तिगत तथा पारिवारिक कर्जा थोरै बढेको संकेत गर्छ । संस्थागत रूपमा वाणिज्य बैंकहरूले ६.३ प्रतिशत, विकास बैंकहरूले ५.६ प्रतिशत र वित्त कम्पनीहरूले ३.९ प्रतिशतले कर्जा विस्तार गरेका छन् ।

धितोको प्रकृतिका आधारमा बैंकहरूको लगानी अझै पनि घरजग्गामै बढी केन्द्रित देखिएको छ । कुल कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा सबैभन्दा बढी ६३.६ प्रतिशत लगानी रहेको छ, जुन गत वर्ष ६५.० प्रतिशत थियो ।

त्यस्तै, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.७ प्रतिशत कर्जा प्रवाह भएको छ, जुन गत वर्षको तुलनामा १४.५ प्रतिशतबाट सामान्य बढेको हो ।

क्षेत्रगत लगानीको ट्रेन्ड हेर्दा निर्माण र उपभोग्य क्षेत्रमा बैंकहरूको आकर्षण बढेको देखिन्छ भने कृषि क्षेत्रमा लगानी घट्नु चिन्ताको विषय बनेको छ । जेठ मसान्तसम्म निर्माण क्षेत्रको कर्जा १५.१ प्रतिशत, उपभोग्य क्षेत्रको कर्जा १३.० प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा १२.५ प्रतिशतले बढेको छ ।

त्यसैगरी औद्योगिक उत्पादनमा ६.८ प्रतिशत, सेवा उद्योगमा ४.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्तिमा ०.६ प्रतिशतले कर्जा बढेको छ । तर, प्राथमिकता प्राप्त क्षेत्र मानिएको कृषि क्षेत्रतर्फको कर्जा भने २.४ प्रतिशतले घटेको छ ।

कर्जाको प्रकृतिअनुसार समीक्षा अवधिमा आयात र सेयर बजारसँग सम्बन्धित कर्जाको माग उच्च देखिएको छ। जेठ मसान्तसम्ममा ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशतले र सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशतले बढेको छ ।
यसैगरी हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट कर्जा ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ ।

अर्कोतर्फ, क्यास क्रेडिट कर्जा ०.३ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ०.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।


सम्बन्धित समाचार