३० असार, काठमाडौं । बाजुरा–हुम्ला सीमा विवादमा बाजुरा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोमबार भएको थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार १० जनालाई अनुसन्धान तथा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको जनाईएको छ।
यसैगरी, आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश भएको अदालत स्रोतले जनाएको छ । घटनामा संलग्न भनिएका आरोपितहरू हुम्लाका स्थानीय हुन् । तीमध्ये एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न २१ जनाविरुद्ध शरीर बन्धक बनाएको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । आरोपअनुसार गत जेठ ३ गते हुम्लाबाट आएको एक समूहले लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार र बन्धक बनाउने कार्य गरेको थियो ।
लाम्पाटादेखि रानीसैनसम्मको क्षेत्रलाई बाजुराले आफ्नो भनिरहेको छ भने हुम्लाले पनि आफ्नो दाबी गरिरहेको छ । बाजुराबाट लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको काम अगाडि बढाएपछि हुम्लाका स्थानीयले विरोध गरेका थिए । उक्त चौकी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



















