Logo

३ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले धुलिखेलस्थित ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा करिब २४ घण्टा बिताएर काठमाडौँ फर्किएका छन् ।

शनिबार दिउँसो करिब ३ बजे पत्नी निकिताका साथ रिसोर्ट प्रवेश गरेका सभापति लामिछाने र अर्थमन्त्री वाग्ले आइतबार अपराह्न २ः२० बजे त्यहाँबाट बाहिरिएका हुन् । अर्थमन्त्री वाग्ले आफैँ लगानीकर्ता रहेको उक्त रिसोर्टमा उनीहरू एउटै भिल्लामा बसेका थिए ।

पछिल्लो समय पार्टी र सरकारको कार्यशैली तथा समन्वयका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला दुई शीर्ष नेताहरूको यो रिसोर्ट बसाइँलाई निकै अर्थपूर्ण मानिएको छ । सार्वजनिक वृत्तमा सरकार र पार्टीबीचको तालमेल तथा केही मन्त्री र प्रधानमन्त्रीबीचको सम्बन्धलाई लिएर चर्चा चलिरहेकै समयमा सभापति र उपसभापतिको यो एक्लो बसाइँले राजनीतिक वृत्तमा थप चासो सिर्जना गरेको छ ।

यद्यपि, उनीहरू निजी प्रयोजनका लागि रिसोर्ट गएको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको बसाइँ पूर्णतया व्यक्तिगत थियो र यसमा प्रहरी–प्रशासनको कुनै विशेष संलग्नता वा जानकारी थिएन ।

केही दिनयता सरकारका पछिल्ला कदम र नेतृत्वको कार्यशैलीलाई लिएर रास्वपाभित्र र बाहिरका बहसहरू चलिरहेका सन्दर्भमा उनीहरूको यो रिसोर्ट भ्रमणले विभिन्न कोणबाट राजनीतिक चर्चा बटुलेको छ ।


सम्बन्धित समाचार
भर्खरै