३ असार, काठमाडौं । केही प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन तोडिएपछि नेकपा (नेकपा) सत्ता समीकरणको तानातानमा परेको छ ।
सत्ताका लागि मरिहत्ते नगर्ने रणनीति लिएको नेकपाले प्रदेश संरचना नै संकटमा पर्ने वा सरकार गठन नै हुन नसक्ने अवस्था आएमा मात्रै सरकारमा सहभागी हुने संकेत गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। उनले सोमबारदेखि नै पार्टीको आन्तरिक र बाह्य राजनीतिक संवादलाई तीव्र पार्ने तयारी गरेका छन् ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार, प्रचण्डले सोमबार सहसंयोजक माधवकुमार नेपालसँग आन्तरिक छलफल गर्नेछन्। उक्त छलफलपछि मात्रै अन्य राजनीतिक दलहरूसँग प्रदेश सरकार गठनको विषयमा औपचारिक संवाद अघि बढ्नेछ । ज्वालाले भन्नुभयो, ‘पार्टीको औपचारिक निर्णय हुन बाँकी नै छ, तर हामी सत्ताको खेलमा लाग्ने पक्षमा छैनौँ। यद्यपि, प्रदेशको अवस्थालाई मूकदर्शक बनेर हेर्न सकिँदैन।’ विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले नेकपालाई थप सक्रिय हुन बाध्य पारेको छ ।
यसअघि नेकपाका नेताहरू वर्षमान पुन र प्रमेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी प्रदेश गठबन्धनका सम्बन्धमा चासो राखेका थिए । भेटमा अध्यक्ष ओलीले कांग्रेससँगको सहकार्यमा असन्तुष्टि जनाउँदै संविधान निर्माणका पक्षधर दलहरू मिल्नुपर्ने संकेत गरे पनि कुनै ठोस सहमति भएको छैन । अर्कोतिर, नेकपाका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले भने सत्ताको खेलमा नलाग्न नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
हाल सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ भने कर्णालीमा कांग्रेसले एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा टुटेको घोषणा भएपछि मात्रै प्रदेश सरकारमा आफ्नो भूमिकाबारे निर्णय गर्ने नेकपाको आन्तरिक तयारी छ । अब प्रचण्ड र नेपालबीचको सोमबारको छलफलले नै प्रदेशमा नेकपाको आगामी कदम कस्तो हुने भन्ने तय गर्नेछ ।




















