Logo

४ साउन, काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूको सामूहिक राजीनामा दिने विषयमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा जारी छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै एमालेका ६ जना मन्त्रीले सोमबार औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । शनिबार नै मुख्यमन्त्री बानियाँलाई सरकारको समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइएको नेता जगन्नाथ थपलियाले बताएका छन् । सार्वजनिक बिदा र अधिकांश मन्त्रीहरू हेटौँडाबाहिर रहेका कारण उनीहरूले सोमबार मात्रै राजीनामा पत्र बुझाउने भएका हुन् ।

प्रदेश सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात क्षेत्र हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सरकारमा सहभागी छन् ।

मुख्यमन्त्री बानियाँले साउन १ गतेदेखि लागू हुने गरी १४ वटा मन्त्रालयमध्ये ६ वटा खारेज गरेसँगै एउटै मन्त्रालयमा तीन–तीन जनासम्म मन्त्रीहरूको जिम्मेवारी तोकिएको थियो। सोही विषयलाई लिएर सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

गत साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको सहकार्यमा बागमतीमा संयुक्त सरकार सञ्चालन हुँदै आएको छ । कांग्रेसका तर्फबाट बहादुरसिंह लामाको स्थान लिँदै इन्द्रबहादुर बानियाँ २० साउन २०८२ मा मुख्यमन्त्री बनेका थिए ।

तर, मुख्यमन्त्री बनेको एक वर्षसमेत पूरा नहुँदै बानियाँ नेतृत्वको सरकार गम्भीर संकटमा फसेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाँले आगामी ३० दिनभित्र प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।


सम्बन्धित समाचार