४ साउन, काठमाडौं । देशभरका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहे पनि ३१ वटा जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार विशेष गरी गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च खतरा रहने छ ।
यसैगरी, झापा, मोरङ, इलाम, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका ३१ जिल्लाका आसपास भएर बहने साना नदीहरूमा पनि बहाव बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । यद्यपि, हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायत देशका ठूला प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले स्पष्ट पारेको छ ।
मौसम तथा बाढीको यो जोखिम आगामी साउन ५ र ६ गतेसम्म पनि जारी रहने सम्भावना देखिएको छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा अचानक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ ।






















