Logo

४ साउन,भरतपुर । महिला सशक्तीकरण, आपसी एकता तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पाउज क्लब अफ आरसी चितवनले शनिबार भरतपुर गार्डेन रिसोर्टमा ‘श्रावण मेहन्दी’ कार्यक्रम सम्पन्न गरेको छ।

अध्यक्ष जानकी तिवारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव बबिता घिमिरेले गर्नुभएको थियो।
कार्यक्रममा सचिव घिमिरेले पौराणिक कालदेखि चलिआएको हिन्दू संस्कृति र परम्पराअनुसार श्रावण महिनाको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले

नेपाली महिलाबीच एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
अध्यक्ष जानकी तिवारी शर्माले रोटरीको मूल मर्मअनुसार महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा आपसी सद्भावलाई सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।

उहाँले क्लबले चितवन रोटरी क्लबसँग सहकार्य गर्दै महिला तथा बालबालिकाको हितमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना तयार गरेको जानकारी दिनुभयो।

योजनाअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, रोजगारमूलक तालिम, शैक्षिक सामग्री वितरण, वृद्धाश्रममा तीजको दर कार्यक्रम, बालबालिकाका लागि पोषण कार्यक्रम तथा किशोरी र महिलाका लागि महिनावारी स्वास्थ्य सचेतना (Menstrual Hygiene Awareness Campaign) सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूले मेहन्दी लगाएर श्रावण पर्वको उल्लास मनाउनुका साथै सामाजिक सेवाका कार्यमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, बोर्ड पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका २५ जना दिदीबहिनीको सहभागिता रहेको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार