Logo

४ साउन,भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमण तथा क्षतिबाट प्रभावित स्थानीयलाई गत आर्थिक वर्षमा कुल एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुका कारण भएको मानवीय क्षति, अन्नबाली, पशुधन, घरगोठ तथा अन्य भौतिक क्षतिलाई आधार मानेर राहत उपलब्ध गराइएको हो।

निकुञ्जको तथ्यांकअनुसार वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका पाँच जनाका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ। त्यसैगरी गम्भीर घाइते भएकाहरूको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ तथा सामान्य घाइते भएकाहरूलाई एक लाख ३४ हजार १७६ रुपैयाँ उपलब्ध गराइएको छ।

यस्तै, पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, अन्नबालीमा भएको क्षतिबापत २१ लाख आठ हजार ३०० रुपैयाँ, घरगोठमा भएको क्षतिबापत तीन लाख ३९ हजार ६५० रुपैयाँ, भण्डारण गरिएको अन्नको क्षतिबापत ७० हजार रुपैयाँ र कुखुराको क्षतिबापत ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो।

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिको राहत उपलब्ध गराउने कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको जनाएको छ।


सम्बन्धित समाचार