Logo

४ साउन, काठमाडौं । क्यान्सरपीडित बुबाको उपचारको बहानामा परिवारसँग नजिकिएर करोडौँ रुपैयाँ ठगी गरेको र घरबाट चेकबुक चोरेर प्रतिनिधि सभा सदस्य आशिका तामाङको नाममा फर्जी चेक बाउन्स गराएर ब्ल्याकमेल गरेको गम्भीर आरोपसहित पीडित परिवार प्रहरीको शरणमा पुगेको छ ।

जीवनप्रसाद बास्कोटाले विभिन्न बहानामा २ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम कुम्ल्याएको र उनीहरूविरुद्ध जाहेरी दिन जाँदा काठमाडौँ प्रहरीले आलटाल गरेपछि पीडित पक्ष राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढकाउन पुगेको थियो। आयोगको कडा निर्देशनपछि मात्र प्रहरीले सोमबार जाहेरी दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

घटनाको विवरण अनुसार, २०७७ सालमा क्यान्सरबाट सिकिस्त बिरामी भएका डम्बरबहादुर बुढाथोकीको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सको उच्च कर्मचारी हुँ भन्दै बास्कोटाले प्रलोभनमा पारेका थिए। त्यसक्रममा परिवारबाट २५ लाख नगद, जग्गा बिक्रीबापतको ३० लाख र सानिमा बैंकबाट सेयर धितो कर्जा स्वीकृत गराएर आरटीजीएसमार्फत ३० लाख ५० हजार गरी कुल २ करोड ८ लाख रुपैयाँ ठगी गरिएको पीडितकी छोरी कुष्मा बुढाथोकीले दाबी गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी कुष्माको खाताबाट चोखिएको चेकबुक प्रयोग गरी जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख र सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको फर्जी चेक बाउन्स गराइएको खुल्न आएको छ ।

चोरिएको चेकबुक र फर्जी कारोबार

अमेरिकामा खाता निष्क्रिय रहेको अवस्थामा इमेलमार्फत करोडौँका दुईवटा चेक बाउन्स भएको सूचना आएपछि परिवार झस्केको थियो । घरमा आउजाउ गर्ने क्रममा बास्कोटाले नै चेकबुक चोरेको र किर्ते हस्ताक्षर गरेर चेक बाउन्स गराएको पीडित परिवारको आरोप छ ।

इन्टरपोलको धम्की र मध्यस्थकर्ता

सांसद तामाङको नाममा चेक बाउन्स भएलगत्तै दिलीप उप्रेती नामक व्यक्ति मध्यस्थकर्ता बनेर पीडित परिवारकहाँ पुगेका थिए । आफूलाई सांसद तामाङको सहसचिव बताउने उप्रेतीले पैसा नतिरे अमेरिकाबाटै इन्टरपोल लगाएर पक्राउ गर्ने र जीवन बर्बाद पार्दिने धम्की दिएको पीडित पक्षले बताएका छन् ।

आरोपितहरूको प्रतिक्रिया

मुख्य आरोपित जीवनप्रसाद बास्कोटाले भने सबै ठगी र चेक चोरीको आरोप खारेज गर्दै यो विशुद्ध व्यक्तिगत लेनदेनको विषय भएको दाबी गरेका छन् । साथै, सांसद आशिका तामाङसँग आफ्नो कुनै चिनजान वा मिलेमतो नरहेको र उनको कारोबार छुट्टै भएको जिकिर उनले गरेका छन् ।


सम्बन्धित समाचार