Logo

४ साउन, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ जना महिलाहरू सम्पर्क विहिन भएका छन् । आइतबार बिहान ११ बजेदेखि उनीहरूको सम्पर्क परिवार र बाहिरी संसारसँग पूर्ण रूपमा टुटेको हो ।

भीमदत्त नगरपालिका–१९, बागफाँटाका उनीहरू निकुञ्जको मालुमेला पोष्ट हुँदै वन क्षेत्रभित्र प्रवेश गरेको खुलेको छ । महिलाहरूको अवस्था अज्ञात बनेपछि हाल नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले निकुञ्जको घना जङ्गलमा तीव्र खोजी अभियान सुरु गरेको छ ।

सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी चौधरी रहेका छन् । उनीहरूसँगै जङ्गल गएका अन्य ३ जनाले भने समयमै परिवारलाई फोन गरेर जानकारी गराएपछि सुरक्षाकर्मीले उनीहरूको सकुशल उद्धार गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हराएकाहरूको खोजीका लागि निकुञ्ज क्षेत्रमा परिचालित सैनिक र प्रहरीको टोलीले जुनसुकै हालतमा उनीहरूलाई फेला पार्न व्यापक गस्ती बढाएको छ ।


सम्बन्धित समाचार