४ साउन, काठमाडौं । काठमाडौँको नक्शालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा सञ्चालित बाल गृहबाट स्वास्थ्य र सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेका २० जना साना बालबालिकाको आकस्मिक उद्धार गरिएको छ ।
गत साउन २ गते गरिएको विशेष अनुगमनका क्रममा बाल मन्दिरको भवनभित्रै ढलको पानी पसेर जमेको पाइएपछि जोखिममा परेका १५ दिनदेखि २ वर्ष उमेर समूहका बालबालिकालाई तत्काल सुरक्षित स्थानमा सारिएको हो । उद्धार गरिएकाहरूमा १२ जना बालक र ८ जना बालिका रहेका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) र बाल हेल्पलाइन (१०९८) को संयुक्त टोलीले उक्त उद्धार कार्य गरेको हो ।
सो टोलीमा काठमाडौँ महानगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि, महानगर बाल उद्धार कार्यदल र मालीगाउँ वृत्तका प्रहरी प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो । भवन परिसरमा पानी जमेर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएपछि उनीहरूलाई तत्काल अस्थायी संरक्षणमा राखिएको छ ।
बालबालिका सम्बन्धी नियमावली तथा बाल गृह सञ्चालन मापदण्ड, २०७९ विपरीत लापरबाहीपूर्ण ढङ्गले गृह सञ्चालन गरिएको पाइएपछि राष्ट्रिय बाल अधिकार परिषद्ले गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रचलित मापदण्ड पालना नगरी कसैले बाल गृह चलाएको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिँदै परिषद्ले स्थानीय तह र प्रदेश समितिलाई आफ्ना क्षेत्रका बाल गृहहरूको नियमित अनुगमन तथा निरीक्षण गर्न विशेष अपिल गरेको छ ।




















