Logo

४ साउन,वीरगञ्ज । बाराको सदरमुकाम कलैयास्थित मानमत–मटिअर्वा–कलैया सडकखण्डको बजार क्षेत्रभित्र पर्ने करिब साढे तीन किलोमिटर सडक वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहँदा स्थानीयवासीले हरेक वर्ष उस्तै सास्ती भोग्दै आएका छन्। निर्माण कार्य अघि बढ्न नसक्दा सामान्य वर्षा हुँदा पनि सडक हिलाम्मे हुने र विभिन्न स्थानमा पानी जम्ने समस्या दोहोरिँदै आएको छ।

सडकको दयनीय अवस्थाका कारण पैदल यात्रुदेखि सवारी चालकसम्म नराम्ररी प्रभावित बनेका छन्। कलैयाका भरतचोक, देवकोटा चोकलगायतका व्यस्त बजार क्षेत्रमा सडकको सतह बिग्रिएका कारण पानी निकास हुन नसक्दा वर्षाको पानी सडकमै जम्ने गरेको छ। यसबाट पैदल यात्रु, साइकल तथा मोटरसाइकल चालक, एम्बुलेन्स र सार्वजनिक यातायात सञ्चालनमा समेत ठूलो समस्या हुने गरेको स्थानीयको भनाइ छ। सडकको अवस्था बिग्रँदै जाँदा दुर्घटनाको जोखिमसमेत निकै बढेर गएको छ।

सडकको यो दुरावस्थाले कलैया बजारको व्यापारिक गतिविधिसमेत नराम्ररी प्रभावित भएको स्थानीय व्यवसायीहरूले गुनासो गरेका छन्। सुख्खायाममा उड्ने धुलो र वर्षायाममा हुने हिलोको समस्याले बजार क्षेत्रको दैनिक जनजीवन र व्यापार व्यवसाय नै संकटमा परेको उनीहरूको भनाइ छ।

चौथो पटक ठेक्का आह्वान, तर निर्माण अझै अनिश्चित

यो सडक निर्माणका लागि विगतमा पटक–पटक ठेक्का प्रक्रिया अघि बढाइए पनि प्रशासनिक र प्राविधिक समस्याका कारण प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन। लामो समयदेखि अलपत्र रहेको आयोजनाका लागि हुलाकी राजमार्ग निर्देशनालयले यसअघि भएका सबै ठेक्का प्रक्रिया रद्द गरी पुनः नयाँ ठेक्का आह्वान गरेको छ।

यो चौथो पटकको प्रयास भए पनि निर्माण कार्य कहिलेदेखि सुरु हुने भन्ने विषय अझै निश्चित हुन सकेको छैन। विकास आयोजनामा हुने ढिलाइका कारण नागरिकले वर्षौंदेखि सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले वर्षौंदेखि अधुरो रहेको सडक तत्काल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। उनीहरूले अब थप ढिलाइ नगरी जिम्मेवार निकायलाई प्रभावकारी पहल गर्न र निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार