४ साउन, काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने विषयमा विभिन्न चर्चा र खैलाबैला चलिरहेका बेला एमालेका मन्त्रीहरूले भने पार्टीको औपचारिक निर्देशन नआएसम्म राजीनामा नदिने स्पष्ट पारेका छन् ।
कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग छलफल गरी आगामी कदम चाल्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले सञ्चारमाध्यममा आएका राजीनामासम्बन्धी समाचारहरू केवल हल्ला मात्र भएको बताएका छन् ।
पार्टी सचिव महेश बस्नेतको समेत उपस्थिति रहेको उक्त बैठकमा वर्तमान गठबन्धन र मन्त्रालयको जिम्मेवारीबारे माथिल्लो तहमा छलफल भइरहेको तर हाललाई सरकार नछाड्ने निर्णय भएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन् । पार्टीबाट आधिकारिक र स्पष्ट निर्देशन प्राप्त हुनासाथ सोहीअनुसार निर्णय लिने एमालेको तयारी छ ।




















