४ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संसद्को सुनुवाइ समितिले मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेको छ ।
संवैधानिक परिषद्बाट सिफारिस भई आएका पदाधिकारीहरूको योग्यता र उजुरीमाथि छलफल गरी सुनुवाइ गर्न समितिले औपचारिक कार्यसूची नै तय गरेको छ । समितिका सचिव तुलबहादुर कँडेलका अनुसार हिजो आइतबार सार्वजनिक बिदा परेका कारण उजुरी दिने समय आज सोमबार साँझ ५ बजेसम्मलाई थप गरिएको छ र त्यसलगत्तै प्राप्त उजुरीहरू खोलेर अध्ययन गरिनेछ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो भने नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
समितिले यी तीनै जना प्रस्तावित पदाधिकारीविरुद्ध असार २६ गतेदेखि १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । सोमबार साँझसम्म उजुरी संकलनको कार्य सकिनेबित्तिकै मंगलबार बस्ने सुनुवाइ बैठकबाट उनीहरूको संसदीय सुनुवाइ औपचारिक रूपमा अघि बढ्नेछ ।




















