Logo

४ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को बहुप्रतिक्षित संशोधित विधान जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रमाणीकरण भएसँगै आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ ।

इप्पानको २४ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट पारित गरिएका नयाँ व्यवस्थाहरू लागू भएपछि संस्थाको सांगठनिक संरचनामा ठूलो फेरबदल भएको छ । यसअघि २५ सदस्यीय रहेको कार्यसमितिलाई बढाएर अब ३७ सदस्यीय बनाइएको छ, जसमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष (एक महिलासहित), महासचिव, उपमहासचिव, ७ जना सचिव ९एक महिलासहित०, कोषाध्यक्ष र ११ जना खुला सदस्य (चार महिला अनिवार्य) को व्यवस्था गरिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तनका रूपमा अब इप्पानमा ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ पुरानो प्रावधानलाई पूर्ण रूपमा खारेज गरिएको छ । संशोधित विधानअनुसार अब अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै पदका लागि उम्मेदवार बन्न कार्यसमितिमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ भने उनीहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने कडा नियम लागु गरिएको छ ।

यदि कोही राजनीतिक दलमा आबद्ध रहेको भए निर्वाचनमा उम्मेदवार बन्नका लागि दल त्यागेको आधिकारिक स्वघोषणा र प्रमाण पेस गर्नुपर्नेछ, अन्यथा उम्मेदवारी स्वतः रद्द हुनेछ । नयाँ विधान र परिवर्तन गरिएको लोगो कार्यान्वयनमा आएसँगै अब इप्पानका आगामी सबै साङ्गठनिक गतिविधि र निर्वाचन नयाँ निर्देशिकाअनुसार नै अघि बढ्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै