Logo

४ साउन,रौतहट। मधेस प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गए पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना हुँदा ५३४ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३० जनाले कम हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ४४३ सवारी दुर्घटनामा ५६४ जनाको मृत्यु भएको थियो भने १२ हजार १२३ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम, नियम कार्यान्वयनमा कडाइ तथा निगरानीका कारण दुर्घटनाको संख्या बढे पनि मृत्युदर घटाउन सकारात्मक प्रभाव परेको प्रहरीको निष्कर्ष छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार गत आर्थिक वर्षमा दुर्घटनामा पर्ने सवारीसाधनमध्ये मोटरसाइकल सबैभन्दा धेरै रहेका छन्। तथ्याङ्कअनुसार ७ हजार ८५१ मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यसपछि शारीरिक साधन ९६५, टेम्पो ८३६, जिप ७१६, ट्र्याक्टर ३३२, यात्रुवाहक बस १९३, माइक्रो १०५ र अन्य ४३ सवारीसाधन दुर्घटनामा परेका छन्।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाका प्रमुख कारण तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, हेल्मेट प्रयोगमा लापरबाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति, कमजोर सडक अवस्था तथा वर्षायाममा चिप्लो सडक रहेका छन्।

आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ८४८ ओभरलोड सवारीसाधनमाथि कारबाही गर्दा थप १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

जिल्लागत रूपमा पर्सामा सबैभन्दा बढी १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्, जहाँबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ। सप्तरीमा ६ हजार ६ सवारीसाधन कारबाहीमा पर्दा सबैभन्दा कम ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ।

अन्य जिल्लामध्ये रौतहटमा १० हजार ९४०, बारामा १५ हजार ७४८, सर्लाहीमा १० हजार ९४०, महोत्तरीमा १५ हजार ९८४, धनुषामा १२ हजार २४३ तथा सिरहामा १३ हजार ४१६ सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मात्रै १२ हजार ३७४ कारबाहीबाट १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

यस अवधिमा प्रदेशभर २६ हजार ८८३ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै