४ साउन, काठमाडौं । संशोधित कारागार नियमावलीले कैदीबन्दीहरूको सेवा(सुविधा र जीवनशैलीमा महत्त्वपूर्ण सुधारका व्यवस्थाहरू ल्याएको छ ।
अब कैदीबन्दीहरूले हरेक वर्ष नयाँ तन्ना पाउनुका साथै चाडपर्व खर्च बापत ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने स्वास्थ्य बीमा र प्रजनन अधिकारको समेत सुनिश्चितता गरिएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत नयाँ नियमावलीअनुसार जेलभित्रै पति-पत्नी भेटघाट र निश्चित समय सँगै बस्न मिल्ने छुट्टै कक्षको व्यवस्था मिलाइनेछ। साथै, कैदीबन्दीलाई भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराउने, कारागारभित्र उद्यम केन्द्र दर्ता गरी सञ्चालन गर्ने र मनोसामाजिक परामर्शका लागि विशेष नाइकेको व्यवस्था गर्ने प्रावधानसमेत समेटिएको छ ।
यसैगरी, खुला कारागारको अवधारणाअन्तर्गत दुई तिहाइ कैद भुक्तान गरेका कैदीहरूलाई सङ्घीय तथा प्रादेशिक आयोजनामा काममा लगाउने बाटो खुलेको छ । लामो समयदेखि पुराना नियमावलीका भरमा चलेको कारागार प्रशासनलाई नयाँ कारागार ऐन २०७९ अनुसार व्यवस्थित गर्दै सूचना प्रणाली, डिजिटल रेकर्ड र सिदा रकम बैंक खातामार्फत दिने तयारी पनि गरिएको छ ।




















