Logo

४ साउन, काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण केही दिनयता भइरहेको वर्षा आगामी बुधबारदेखि भने क्रमशः घट्दै जाने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले हाल वर्षा भइरहे पनि बुधबारबाट मौसममा सुधार आउने जनाएको छ ।

विभागका अनुसार आज र भोलि देशका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहनेछ। आज दिउँसो हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । आज राति पनि मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

निरन्तरको वर्षाका कारण ती क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै