९ साउन, पोखरिया (पर्सा) । पर्साको पोखरिया नगरपालिका–४, सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयका छात्राहरूलाई गर्मी मौसममा पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले ५ थान पङ्खा हस्तान्तरण गरिएको छ ।
सामाजिक संस्था उपकार सेवा नेपालको सहयोगमा आज शनिबार विद्यालय परिसरमै आयोजित एक कार्यक्रमका बिच ती पङ्खाहरू हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी तथा समाजसेवी सुमन बगाडियाले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारलाई पङ्खाहरू हस्तान्तरण गरे ।
बढ्दो गर्मीका कारण कक्षाकोठामा अध्ययनरत छात्राहरूलाई पर्ने समस्यालाई ध्यानमा राख्दै सहयोग उपलब्ध गराइएको कार्यक्रमका समन्वयकर्ता नेजामुद्दीन शमानीले जानकारी दिए । “विद्यार्थीहरूले अनुकूल र सहज वातावरणमा अध्ययन गर्न सकून् भन्ने अभिप्रायले हामीले यो सानो सहयोग गरेका हौँ,” उनले भने ।
कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
सहानुभूतिपूर्ण सहयोगका लागि विद्यालय प्रशासनका तर्फबाट प्रधानाध्यापक रौनियारले उपकार सेवा नेपाल तथा सहयोग जुटाउन पहल गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद ज्ञापन गरे । यस्ता सामाजिक तथा शैक्षिक सहयोगले सामुदायिक विद्यालयको शिक्षण-सिकाइ वातावरण सुधार गर्न र छात्राहरूलाई नियमित विद्यालय आउन प्रोत्साहन पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।




















