९ साउन,वीरगञ्ज । प्रतिनिधिसभा सदस्य सुशील साह कानुले पर्साको पर्सागढी नगरपालिका–५, जिगनामा स्थानीयवासीसँग भेटघाट गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छलफलका क्रममा स्थानीय किसानहरूले समयमै रासायनिक मलखाद उपलब्ध गराउनुपर्ने, गाउँका सडक तथा नाला निर्माणलाई तीव्रता दिनुपर्ने, स्वास्थ्य सेवाको पहुँच विस्तार, शिक्षा क्षेत्रको सुधार तथा अन्य आधारभूत पूर्वाधार विकासका विषयमा आफ्ना समस्या र सुझाव राखेका थिए।
स्थानीयका गुनासा र सुझाव सुनेपछि सांसद साहले उठाइएका विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना अघि बढाइने र जनताको प्रत्यक्ष सहभागितामार्फत विकासलाई प्रभावकारी बनाइने बताए।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा शीघ्र कार्यान्वयनको अपेक्षा गरेका थिए।
स्थानीय आवश्यकता पहिचान गर्दै जनप्रतिनिधि र स्थानीयबीच सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।




















