१० साउन, काठमाडौं । काठमाडौँको बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ (एसभीपी) केन्द्रमा सरकारले सिलबन्दी गरेको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरब जाने सामान्य श्रमिकहरूसँग बिनाअनुमति अतिरिक्त शुल्क असुल गरी सिप परीक्षण र प्रमाणीकरण गर्दै आएको पाइएपछि अनुगमन टोलीले उक्त केन्द्र बन्द गराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, सीटीईभीटी र शिक्षा मन्त्रालयको संयुक्त अनुगमन टोलीले गत ६ साउनमा केन्द्रमा छापा मारी सिलबन्दी गरेको हो ।
अनुगमनका क्रममा ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) ले सीटीईभीटीबाट केवल सिप तालिम सञ्चालनको अनुमति लिएको भए पनि त्यसविपरीत गैरकानुनी रूपमा सिप परीक्षण र प्रमाणीकरणको काम गर्दै आएको भेटिएको थियो । केन्द्रले प्रतिश्रमिक ५० अमेरिकी डलर (करिब साढे ६ हजार रुपैयाँ) शुल्क असुल गर्दै ३ घण्टाको परीक्षणपछि मात्र एसभीपी प्रमाणपत्र वितरण गर्ने गरेको थियो ।
उक्त प्रमाणपत्र नभएका श्रमिकलाई काठमाडौँस्थित साउदी दूतावासले भिसा आवेदन नै नलिने व्यवस्था गरेपछि श्रमिक र म्यानपावर व्यवसायीहरू मारमा परेका थिए ।
यसअघि म्यानपावर व्यवसायीहरूको तीव्र विरोधका बीच श्रममन्त्री रामजी यादव र नेपालका लागि साउदी राजदूत फहद मोहम्मद अल–इम्निखरबिच भएको भेटमा मन्त्रीले सो कार्यक्रम तत्काल रोक्न विशेष अनुरोध गरेका थिए । राजदूतले साउदी सरकारसँग परामर्श गर्ने आश्वासन दिए तापनि सुटुक्क केन्द्र सञ्चालन गरी श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपर्ने काम भइरहेको थियो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारसँग कुनै अनुमति र समन्वय नगरी सिन्डिकेट शैलीमा सञ्चालित सो गैरकानुनी गतिविधि रोक्न सिलबन्दी गरिएको हो । अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रालयले थप कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने जनाएको छ ।




















