Logo

११ साउन, नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै शङ्कास्पद अवस्थामा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैँडाकोट–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैँडाकोट–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेका छन् ।

स्थानीयवासीले आइतबार दिउँसो मन्दिर परिसर नजिकै दुवै महिलालाई अचेत अवस्थामा देखेपछि लगत्तै प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो ।

तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुवै महिलाको मृत्यु के कति कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ । घटना स्थलको टोलीले अनुसन्धान सुरु गरिसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार