११ साउन, काठमाडौं। चिकित्सा शिक्षा सुधार तथा स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै धनगढीमा बिहीबारदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिपछि आफ्नो अनशन तोडेका छन्।
शनिबार सरकारको वार्ता टोली धनगढी पुगेर डा. केसीसँग छलफल गरेको थियो। छलफलका क्रममा उनका माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि उनले अनशन अन्त्य गरेका हुन्।
अनशन तोड्ने क्रममा डा. केसीले धनगढीस्थित अस्पतालमा बिरामी कुरुवा रहेका गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिए। धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन्।
सरकार र डा. केसीबीच भएको सहमतिसँगै केही दिनदेखि जारी अनशन समाप्त भएको छ। अब सहमतिअनुसार सरकारले माग कार्यान्वयन गर्ने प्रक्रियामा अघि बढ्ने अपेक्षा गरिएको छ।




















