Logo

१२ साउन, सुनसरी । सुनसरीको देवानगञ्जमा दुई पक्षबिच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै कर्फ्यु हटाइएको जानकारी दिएको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न नपाउने गरी लगाइएको उक्त कर्फ्यु हटाउने निर्णय गरिएको छ ।

आईतबार राति ९:०० बजेदेखि लागू गरिएको कर्फ्यु खुला गरिएसँगै क्षेत्रको जनजीवन लयमा फर्किन थालेको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णय लगत्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को घोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटरको दूरीभित्र कर्फ्यु आदेश जारी गरेको थियो ।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबिच झडप भएपछि स्थिति उग्र बनेको थियो । उक्त झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सो क्षेत्रमा थप तनाव सिर्जना भएको थियो ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रतिनिधिहरूबिचको प्रयासपछि  स्थिति नियन्त्रणमा आएको र कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ । सुरक्षा व्यवस्था भने अझै कडा राखिएको प्रशासनको भनाई छ ।


सम्बन्धित समाचार