१२ साउन, काठमाडौँ । खेतीपातीका लागि रासायनिक मल खरिद गर्न भारत जाँदा पक्राउ परी भारतीय जेलमा परेका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि नेपाली कांग्रेसले सरकारसँग कूटनीतिक तथा कानुनी पहलको माग गरेको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहको सुरक्षित रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपालमा समयमै मल उपलब्ध नभएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्साबाट दुई बोरा युरिया र डीएपी मल खरिद गरेर फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । दुवै किसान विगत २० दिनदेखि बिहारको सीतामढीस्थित डुमरा जेलको थुनामा रहेका छन् ।
कांग्रेसले आफ्नै खेतमा हाल्न मल ल्याउँदा किसान पक्राउ पर्नु र लामो समयसम्म जेलमा रहनुलाई गम्भीर र दुःखद घटना भनेको छ । “मल गोदाममा थन्किने अनि किसान भने जेलमा पुग्नु अत्यन्तै विडम्बनापूर्ण स्थिति हो,” विज्ञप्तिमा उल्लेख छ ।
मल आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी, स्पष्ट योजनाको अभाव र प्रशासनिक असक्षमताको प्रत्यक्ष मार किसानमाथि परेको भन्दै कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । खेतीपातीको याममा वर्षौंदेखि अन्नदाता किसानहरूले सास्ती भोग्न बाध्य हुनु राज्यको लाचारी भएको कांग्रेसको ठहर छ ।
नेपाली कांग्रेसले ती किसानहरू कुनै व्यापारिक वा तस्करीको उद्देश्यले नभई विशुद्ध आफ्नै खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको नजरले नहेर्न आग्रह गरेको छ । साथै, दुई देशबीचको ऐतिहासिक मित्रता, खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई दृष्टिगत गर्दै पक्राउ परेका किसानहरूलाई रिहा गर्ने वातावरण मिलाउन भारत सरकारसँग पनि अपिल गरिएको छ ।



















