Logo

१२ साउन, काठमाडौँ । देशका प्रमुख नदीहरूमा पानीको बहाव नियन्त्रणभित्रै रहे पनि २४ जिल्लाका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान बुलेटिन जारी गर्दै ती जिल्लाका नदी तटीय क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित मुख्य नदी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै छ । तर, हिमाली, पहाडी तथा चुरे क्षेत्रबाट बहने साना नदीहरूमा भने एक्कासि बहाव बढ्ने सम्भावना छ ।

आज विशेषगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक तथा उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) भएर बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी सुदूरपश्चिम र लुम्बिनीका बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका नदी-नालामा पनि आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

बाढीको यो जोखिम आगामी केही दिनसम्म कायम रहने महाशाखाको भनाइ छ । भोलि बुधबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा बहाव तीव्र हुन सक्नेछ भने पर्सि बिहीबार लुम्बिनी प्रदेशसमेतका केही साना नदीमा बाढीको उच्च सम्भावना देखिएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार