Logo

१२ साउन, काठमाडौँ ।  तीव्र गतिमा घट्दो जन्मदर र युवाहरूमाझ घट्दो विवाहदरको सङ्कट झेलिरहेको जापानमा टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) आधारित डेटिङ एपले सकारात्मक परिणाम दिन थालेको छ ।

सन् २०२४ को सेप्टेम्बरदेखि सञ्चालनमा ल्याइएको ‘टोकियो एनमुसुबी’ नामक सरकारी डेटिङ एपका माध्यमबाट अहिलेसम्म २६५ जोडीले सफलताका साथ वैवाहिक जीवन सुरु गरिसकेका छन् ।

जापान सरकारले गरेको एक सर्वेक्षणमा विवाह गर्न इच्छुक भएर पनि करिब ७० प्रतिशत युवायुवतीहरू उपयुक्त जोडी खोज्ने प्रक्रिया (म्याचमेकिङ) मा सक्रिय नभएको देखिएपछि यो डिजिटल पहल सुरु गरिएको हो ।

एपलाई सुरक्षित र विवाहप्रति साँच्चिकै गम्भीर व्यक्तिहरूको मात्र पहुँचयोग्य बनाउन कडा सर्तहरू राखिएका छन् । प्रयोगकर्ताले आफू कानुनी रूपमा अविवाहित रहेको आधिकारिक प्रमाण पेस गर्नुका साथै अनलाइन अन्तर्वार्तासमेत उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारी तथ्याङ्कअनुसार यस वर्ष जुन ३० सम्म परेका ३६ हजार आवेदनमध्ये १६ हजार योग्य व्यक्तिहरूलाई सदस्यता दिइएको छ। हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले लगनगाँठो कसिसकेका छन् ।

एप प्रयोगकर्ता ‘टर्टल’ (प्रचलित नाम) ले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’का रूपमा प्रयोग गरेको र अहिले खुसीसाथ वैवाहिक जीवन बिताइरहेको अनुभव साझा गरेकी छन् । अर्का प्रयोगकर्ता ‘स्काइट्री’का अनुसार एआईले दुई व्यक्तिबीचको अनुकूलता (कम्प्याटिबिलिटी) चरणबद्ध र पारदर्शी रूपमा देखाउने भएकाले सही जीवनसाथी रोज्न निकै सहज भएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको सङ्ख्या अझ घटेर ६ लाख ७१ हजार २३६ मा सीमित भएको छ। जन्मदरमा आएको यो गिरावट लगातार दशौँ वर्षको हो ।

सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर घटेर १.१४ मा झरेको छ । यद्यपि, विवाहको सङ्ख्यामा केही सुधार देखिएकाले यस्ता प्रविधिमैत्री सरकारी प्रयासहरूले आगामी दिनमा जनसङ्ख्या सन्तुलनमा राहत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार