Logo

१२ असार, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि त्यसको विरोधमा सिरहामा प्रदर्शन भएको छ ।

स्थानीयहरूले गोलबजार नगरपालिका–८ स्थित चोहर्वामा पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । यसअघि पनि कर्जन्हाको बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाईको कसहा चोकमा विरोध कार्यक्रमहरू भएका थिए ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, प्रहरी दमन बन्द गरिनुपर्ने र गोली चलाउनेमाथि कडा कारबाही हुनुपर्ने माग राखेका छन्। उनीहरूले राज्य पक्षबाटै युवाको हत्या भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत मागेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आन्दोलनकारीहरूले करिब आधा घण्टासम्म राजमार्ग ठप्प पारेका थिए । तर, प्रहरी र प्रदर्शनकारीहरूबीच भएको छलफलपछि अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा आइसकेको छ ।


सम्बन्धित समाचार