Logo

१२ असार, काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न आक्रोश कोसी प्रदेशको राजधानी विराटनगरसम्म फैलिएको छ ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार बिहानैदेखि युवा तथा सर्वसाधारणहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले नगरका विभिन्न भागमा र्‍याली निकालेपछि अहिले मुख्य सडकमा विरोध सभा आयोजना गरिरहेका छन् ।

प्रदर्शनका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । सोमबार साँझ नै माइकिङ गरेर पसल तथा शैक्षिक संस्था बन्द गर्न आह्वान गरिएकाले मंगलबार बिहानैदेखि अधिकांश बजार र विद्यालयहरू ठप्प रहेका छन् ।

कुनै अप्रिय घटना हुन नदिन बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार राति दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका अन्य व्यक्तिहरूको भने विराटनगरका विभिन्‍न अस्पतालहरूमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार